नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौं । बडादशैं अर्थात् नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

धार्मिक मान्यताअनुसार कुष्माण्डा देवीको पूजा आराधना गर्नाले सुख, समृद्धि, शक्ति र ऐश्वर्य प्राप्त हुने विश्वास छ। नवरात्रका अवसरमा घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती, श्रीमद् देवी भागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ।

नवरात्रको नौ दिनसम्म शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नवदुर्गाका नौ स्वरूपको पूजा आराधना गरिन्छ।

यस अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा बिहानैदेखि पूजा आराधना र दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्दछ।