चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज (मंगलबार) अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालका तराई भू–भाग नजिक रहेकाले वर्षा गराउने प्रणाली थप सक्रिय बनेको हो । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मंगलबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भू–भागमा बदली रहने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ । त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थान, मधेश प्रदेशका विभिन्न स्थान, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्र तथा कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

महाशाखाले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थान र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । मंगलबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थान, कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने मौसमविद्को अनुमान छ । महाशाखाका अनुसार राति विशेषगरी कोशी प्रदेशको तराई क्षेत्र र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदीनाला आसपासका बासिन्दा, यात्रु तथा पहिरोको जोखिम भएका क्षेत्रका नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।