विराटनगर
नेपाली कांग्रेसभित्र संगठन रूपान्तरण, नेतृत्व हस्तान्तरण र सांगठनिक सुदृढीकरणको बहस तीव्र बनिरहेका बेला कोशी प्रदेश कार्यसमितिलाई थप गतिशील र चुस्त बनाउने संकल्पसहित पुराना नेता सञ्जय भट्टराईले प्रदेश उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेका छन्।
सांगठनिक राजनीतिमा ३६ वर्षभन्दा बढी समय निरन्तर खटिएका भट्टराईले प्रदेश उपसभापति जस्तो महत्त्वपूर्ण पदलाई केवल पद र मर्यादामा मात्र सीमित नराखी, वडा तथा टोल तहसम्म पार्टीको उपस्थिति सशक्त बनाउने मुख्य लक्ष्य अघि सारेका छन्।
२०४६ सालको जनआन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका मोरङ कानेपोखरीका भट्टराईले २४ वर्षकै कलिलो उमेरमा महाधिवेशन प्रतिनिधि बनेर आफ्नो सांगठनिक क्षमता सिद्ध गरिसकेका थिए। तत्कालीन गाउँ समिति सदस्य, दुई कार्यकाल क्षेत्रीय सचिव हुँदै मोरङ जिल्ला सचिवको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका उनीसँग तल्लो तहदेखि प्रदेशस्तरसम्मको सांगठनिक संरचना र कार्यकर्ताको भावनालाई नजिकबाट बुझेको गहिरो अनुभव छ।
हाल नेपाली कांग्रेस कोशी प्रदेशका निर्वाचित कार्यसमिति सदस्यसमेत रहेका भट्टराई नवौँ महाधिवेशनदेखि निरन्तर महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य रहँदै आएका छन्। पार्टी आन्दोलन र संगठन निर्माणमा अहोरात्र खटिए पनि उनले अहिलेसम्म कुनै पनि राजकीय वा लाभको पद लिएका छैनन्। गत २०७९ को स्थानीय तह निर्वाचनमा कानेपोखरी गाउँपालिका अध्यक्षको प्रत्यासी बनेका उनी चुनावी परिणाम आफ्नो पक्षमा नआए पनि निराश नभई निरन्तर पार्टी नीति निर्माण र संगठन विस्तारमै सक्रिय रहँदै आएका छन्।
पार्टीभित्र नयाँ ऊर्जा र वैचारिक स्पष्टताको आवश्यकता खड्किरहेका बेला भट्टराईले अघि सारेको उपसभापतिको दाबेदारीलाई कांग्रेस वृत्तमा ‘अनुभवको जगमा रूपान्तरण र निष्ठाको कदर’का रूपमा हेरिएको छ।
प्रदेश उपसभापति बनेपछि स्थानीय तह, जिल्ला र प्रदेश समितिबीच प्रभावकारी समन्वय स्थापित गर्ने, पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई क्रियाशील बनाउने र नीतिगत स्पष्टताका साथ टोल-टोलसम्म कांग्रेसको अभियान पुर्याउने उम्मेदवार भट्टराईको योजना छ।
हालसम्म कोशी प्रदेश उपसभापतिका लागि अन्य सम्भावित दाबेदारहरूले औपचारिक घोषणा गरिनसकेको अवस्थामा, लामो सांगठनिक अनुभव र त्यागी छवि बोकेका भट्टराईको उम्मेदवारी तयारीले आगामी प्रदेश अधिवेशनलाई थप चाखलाग्दो, प्रतिस्पर्धात्मक र अर्थपूर्ण बनाउने देखिएको छ।