एक कैदीबन्दीको मोरङ कारागारमा  मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङका १ जना बन्दीको मृत्यु भएको छ ।
जबरजस्ती करणी मुद्दाका बन्दी विराटनगर महानगरपालिका–५ घर भएका ४० वर्षीय सन्तोष पालको बुधबार साँझ मृत्यु भएको हो ।कारागारका जेलर गौरव ढुंगेलका अनुसार पाललाई जरबजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङले २०८१ साल मंसिर ११ गते कारागार चलान गरेको थियो । अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि कारागार चलान भएका उनको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा बुधबार साँझ ६ः२५ बजेतिर मृत्यु भएको हो । शरीर सुन्निने र श्वासप्रश्वासमा समस्या भएपछि पाललाई उपचारका लागि असार १२ गते अस्पताल भर्ना गरिएको थियो ।
उपचारकै क्रममा मृत्यु भएका पालविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ । मुद्दाको फैसला नहुँदै उनको मृत्यु भएको हो । जेलर ढुंगेलले मृतकको शव परिवारलाई जिम्मा लगाइसकिएको बताए ।