कटुवा पेस्तोल र लागूऔषधसहित विराटनगरबाट एक जना पक्राउ परेका छन् l

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१८, झटियाही बुधनगरबाट प्रहरीले कटुवा पेस्तोल र लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
बुधबार राति करिब १२ः१० बजे कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरअन्तर्गत प्रादेशिक अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले स्थानीय ५९ वर्षीय लालकिशोर यादवको कोठामा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा यादवको साथबाट एक थान कटुवा पेस्तोल, ८ ग्राम ४८० गाजा र ३ ग्राम ७० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
बरामद सामग्रीसहित यादवलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।