सुनसरी । सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले मंगलबार राति ८ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु लागू गरेको हो ।
प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरेका हुन् । हालै सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा भएको घटनापछि सम्भावित अप्रिय गतिविधि रोक्न, शान्ति सुरक्षा कायम राख्न र सामाजिक सद्भाव कायम राख्न यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।
कर्फ्यु अवधिमा तोकिएका क्षेत्रमा सर्वसाधारणको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा अन्य सार्वजनिक गतिविधि गर्न पूर्ण रूपमा रोक लगाइएको छ । प्रशासनले आदेश उल्लंघन गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार इटहरी उपमहानगरपालिका–१६ र १७ मा पर्ने महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गतको महेन्द्र राजमार्ग आसपासको क्षेत्रसहित जिल्लाका अधिकांश स्थानीय तहमा कर्फ्यु लागू गरिएको छ ।
कर्फ्यु लागू हुने क्षेत्रहरूमा इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगन्ज गाउँपालिका, हरिनगर गाउँपालिका र बर्जु गाउँपालिका रहेका छन् । प्रशासनले सुरक्षा निकायलाई कर्फ्यु आदेश प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
साथै, स्थानीय बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, अफवाह तथा भ्रामक सूचनाको पछि नलाग्न र सुरक्षा निकायले दिएका निर्देशन पालना गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले परिस्थितिको निरन्तर अनुगमन भइरहेको जनाएको छ ।
अवस्था सामान्य बन्दै गएपछि कर्फ्यु सम्बन्धी थप निर्णय सार्वजनिक गरिने प्रशासनको भनाइ छ । हाल सुनसरीको सुरक्षा अवस्थालाई सामान्य बनाउन सुरक्षा संयन्त्र परिचालन गरिएको छ । यद्यपि, देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण झडप भइरहेको छ ।
