काठमाडौँ– सुनसरी र सिरहा घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिने सरकारले निर्णय गरेको
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरी र सिरहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका परिवार तथा घाइतेहरूलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
यस्तै सरकारले विश्वविद्यालय अनुदान आयोगमा रिक्त रहेको अध्यक्ष पदमा प्रा. डा. खड्कबहादुर केसी (पर्वत) र सचिव पदमा प्रा.डा. रोजेश श्रेष्ठ (ललितपुर) लाई नियुक्ति गरेको छ।
यस्तै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा ज्ञानेन्द्र मुखिया काठमाडौंलाई नियुक्ति गर्ने निर्णय बैठकले गरेको छ।
साथै नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश २०५४ खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने, पशु बधशाला र मासु जाँच ऐन २०५५ चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने र बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८३ सङ्घीय संसद् समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ।