विराटनगर — मोरङको सुनवर्षी नगरपालिका–९ डाइनिया मुस्लिम टोलमा ४ वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले ५९ वर्षीय जान मोहम्मद मन्सुरीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन ८ गते जफारुल मियाँकी ४ वर्षीया छोरी कायनात खातुन स्थानीय घाँसे बारीमा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको अनुसन्धानका क्रममा मन्सुरीको संलग्नता देखिएपछि उनलाई साउन २० गते आफ्नै घरबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार बालिका साथीहरूसँग खेल्ने क्रममा मन्सुरीको बारीमा अम्बा टिप्न गएकी थिइन्। प्रारम्भिक अनुसन्धानले मन्सुरीले इट्टाले प्रहार गर्दा बालिका ढलेपछि उनलाई काखमा बोकेर घाँसे बारीमा फालेको देखिएको जनाएको छ।
पक्राउ परेका मन्सुरीविरुद्ध कर्तव्य ज्यान मुद्दामा मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।