विराट स्पोर्ट्सको अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा ३२ विद्यालय सहभागी हुँदै

विराटनगर

विराटनगर–३ मा रहेको विराट स्पोर्ट्स जोनले पहिलोपटक अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। विद्यालयस्तरमा रहेका प्रतिभाशाली खेलाडीको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा विराटनगर तथा आसपासका ३२ वटा विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगिता सञ्चालनका लागि २ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितालाई व्यवस्थित, प्रतिस्पर्धात्मक र उच्चस्तरीय बनाउन आवश्यक तयारी पूरा भएको जानकारी दिएको हो।

प्रतियोगिताको विशेष आकर्षणका रूपमा पहिलोपटक ‘फेयर प्ले अवार्ड’ प्रदान गरिने भएको छ। त्यस्तै, उत्कृष्ट खेलाडी (बेस्ट प्लेयर) लाई ट्रफीसहित क्रिकेट एकेडेमीमा तीन महिनाको शतप्रतिशत छात्रवृत्ति र १ हजार रुपैयाँ बराबरको भौचर प्रदान गरिने प्रोजेक्ट म्यानेजर राज ढकालले जानकारी दिए।

बेस्ट ब्याट्सम्यान र बेस्ट बलर लाई पनि ट्रफीसहित क्रिकेट एकेडेमीमा एक महिनाको शतप्रतिशत छात्रवृत्ति र १ हजार रुपैयाँ बराबरको भौचर प्रदान गरिनेछ।

त्यसैगरी, प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ घोषित खेलाडीलाई मेडलसहित क्रिकेट एकेडेमीको भर्ना शुल्कमा ५० प्रतिशत छुट र ५ सय रुपैयाँ बराबरको भौचर प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट सम्भावना देखाउने उदयमान खेलाडीलाई समेत ट्रफी प्रदान गरिनेछ।

विराट स्पोर्ट्स जोनका अध्यक्ष हरि बजगाईंले स्थापनाको पहिलो वर्षमै खेलकुद क्षेत्रमा प्रभावकारी काम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए।

“विद्यालयस्तरबाट प्रतिभाशाली खेलाडी पहिचान गरी उनीहरूलाई प्रशिक्षण र अवसर उपलब्ध गराउनु हाम्रो मुख्य लक्ष्य हो। अन्तरविद्यालय क्रिकेट प्रतियोगिता त्यसै अभियानको सुरुवात हो,” उनले भने।

आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यापक बनाउँदै विराटनगरलाई खेलकुद गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने योजना रहेको बजगाईंले बताए।

आयोजकका अनुसार प्रतियोगिताले विद्यालयस्तरमा खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवर्द्धन तथा नयाँ पुस्तामा खेलप्रतिको आकर्षण बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतियोगिता साउन २७ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने कार्यक्रम संयोजक करण कार्कीले जानकारी दिए।