
विराटनगर।देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास र पश्चिमी भागमा सरदर स्थानभन्दा केही उत्तरतिर रहेकाले देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका केही स्थान तथा अन्य भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा पनि हुन सक्ने विभागले जनाएको छ।
उच्च पहाडी तथा हिमाली भूभागमा समेत हल्कादेखि मध्यम वर्षा र केही स्थानमा हिमपातको सम्भावना छ।
रातिको समय पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। साथै कोसी, मधेस र वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
विभागले भारी वर्षाका कारण पहिरो, बाढी तथा नदीमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।