काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो र राति नै केही भूभागमा भारी वर्षाको पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।राति कोसी र वाग्मती प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
विभागले दिउँसो देशभर साधरणतया बादल लाग्ने बताएको छ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
पहाडी भूभागका धेरै स्थानमा तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
कोसी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ ।
विभागले राति देशभर साधरणतया बादल लाग्ने जानकारी दिएको छ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा उत्तरतिर र पूर्वमा सरदर स्थानको आसपास रहेको विभागले बताएको छ ।
