सशस्त्रले छापा मारेको घरमा तामझाम बढी, उपलब्धि थोरै

विराटनगर । विराटनगर महानगरपालिका–१४ मा आज बिहान सशस्त्र प्रहरीले ठुलै तस्करीको जालो भत्काउने गरी शक्ति प्रदर्शन सहित छापा मार्यो। विशेष सूचनाको आधारमा सुरेश यादवको घर र गोदाममा सशस्त्र प्रहरीको टोलीले घेरा हालेपछि वरपरका स्थानीयमा ठुलै परिमाणमा अवैध सामान भेटिने अपेक्षा थियो । तर, सशस्त्रको त्यो व्यापक तयारी र तामझामको तुलनामा बरामद भएको सामानको परिमाण भने निकै न्यून देखिएको छ।

विशेष सूचना भन्दै बिहानै सुरक्षा तैनाथी बढाएर खानतलासी गरेको सशस्त्र प्रहरीले अन्ततः केही बोरा र झोलामा राखिएका लत्ताकपडा मात्र फेला पार्न सफल भयो। सुरुमा ठुलो परिमाणको अवैध भण्डारण भनिए पनि बरामद सामानको वास्तविक मूल्य र परिमाण सुन्दा सशस्त्रकै अधिकारीहरूका लागि यो हात्ती आयो, हात्ती आयो, फुस्सा जस्तै बनेको छ।

 

सशस्त्र प्रहरी बल मोरङका एसपी गेहेन्द्र बहादुर भण्डारीले छापा मार्ने क्रममा करिब १ लाख ५० हजार देखि २ लाख रुपैयाँ बराबरको मात्र सामान भेटिएको स्वीकार गरे। उनले भने, ‘हामीले जस्तो सोचेका थियौँ, त्यस्तो रहेनछ। सूचना ठुलै थियो तर सामान सोचेभन्दा निकै कम भेटियो।’

सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीले साना परिमाणका सामान पक्राउ गर्न पनि ठुलो जनशक्ति र तामझाम देखाउँदा स्थानीयस्तरमा यसको आलोचना समेत भएको छ।

बरामद गरिएका कपडाहरूलाई हाल नियन्त्रणमा राखिएको र थप प्रक्रियाका लागि भन्सार कार्यालय पठाउने तयारी भइरहेको छ। भन्सारमा मूल्यांकन भएपछि मात्रै यसको वास्तविक बजार मूल्य खुल्ने सशस्त्र प्रहरीले जनाएको छ।