काठमाडौं । मनसुन सक्रिय भएसँगै आज (सोमबार) देशका अधिकांश भू–भागमा वर्षा हुने सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेकाले वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । अधिकांश स्थानमा आकाशमा बादल लागेको छ भने कोशी प्रदेशका केही स्थान तथा बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ ।सोमबार देशभर सामान्यतया बदली रहनेछ । हिमाली तथा पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ ।
त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा वर्षा हुने सम्भावना छ । कोशी र मधेश प्रदेशका तराई भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
देशका पहाडी भू–भागसँगै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा नदी खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले यात्रा गर्दा तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरूले सावधानी अपनाउनुपर्ने देखिएको महाशाखाले जनाएको छ ।