देशभर वर्षाको सम्भावना

काठमाडौं । मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज (बुधबार) देशभरको मौसम प्रभावित हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अधिकांश भू–भागमा बदली रहनेछ भने विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार बुधबार हिमाली क्षेत्रका केही तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ । हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ ।यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तथा मधेश र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ । देशका हिमाली भू–भागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर र पूर्वतर्फ सरदर स्थान आसपास रहेको मौसमविद्ले बताएका छन् ।

 

भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा बाढी, पहिरो तथा सडक यातायातमा असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।