
विराटनगर । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुईसय १२ औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ ।

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको हो ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको हो ।
नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।