कोशीसहित ५ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज (बुधबार) विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशसहित ५ प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावनासमेत छ ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थान आसपास रहेकाले देशभरको मौसममा बदली र वर्षाको अवस्था देखिएको हो । हाल कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका सबै भू–भागमा तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ ।गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने आंशिक बदली रहेको महाशाखाले जनाएको छ । देशका विभिन्न स्थानमा बिहानैबाट चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको महाशाखाको भनाइ छ ।

 

बुधबार दिउँसो पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

 

त्यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । सुदूरपश्चिमको तराईका थोरै स्थान तथा अन्य प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

महाशाखाका अनुसार कोशी, मधेश र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका साथै बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ ।

राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

तराई क्षेत्रका थोरै स्थानमा समेत चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

वर्षाका कारण केही स्थानमा सडक तथा यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।