विराटनगर । सुनसरीका अलगअलग स्थानमा मंगलबार दुर्घटना हुँदा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटना दुहबी र धरानमा भएका हुन् ।
दुहबी नगरपालिका–११ स्थित सिमरबना पुलस्थित भित्री सडक खण्डमा शुक्रबारबारेबाट नहरतर्फ जाँदै गरेको बा ७५ प ३११० नम्बरको मोटरसाइकल साँझ ७ः१० बजेतिर दुर्घटनामा परेको थियो । सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा सुनसरीको गढी गाउँपालिका–२ घर भएका ५५ वर्षीय प्रकाशलाल थान्दारको मृत्यु भएको छमोटरसाइकलसहित चालक थान्दार सिमरबना पुलबाट करिब १५ मिटर तल खसेका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल पठाइएको थियो ।
अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिएको डीएसपी खड्काले बताए । थान्दार रेडियो नेपालका प्राविधिक अधिकृत रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनको साथबाट प्राविधिक अधिकृतको परिचयपत्र पनि फेला परेको छ ।
दुर्घटनाको कारण खुल्न सकिरहेको छैन । यद्यपि, सडकमा ध्यान नदिँदा र तीव्र गतिमा मोटरसाइकल कुदाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ ।
त्यस्तै, कोशी राजमार्गअन्तर्गत धरान उपमहानगरपालिका–८ गुराँस चोकमा मोटरसाइकलले सिटी सफारीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ८ प ३३३३ नम्बरको मोटरसाइकलले आफ्नै साइडमा रोकेर राखिएको प्रदेश १–०२–००४ ह ३५०४ नम्बरको सफारीलाई दिउँसो २ः४५ बजेतिर पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ५५ वर्षीय राजेन्द्रप्रसाद घिमिरेको मृत्यु भएको छ । गम्भीर घाइते भएका घिमिरेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
उपचारका क्रममा राति ९ः४० बजेतिर चिकित्सकले मृत घोषणा गरिदिएको डीएसपी खड्काले बताए । सिटी सफारी र चालक धरान–५ का ३८ वर्षीय रचन मगरलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ ।