विराटनगर । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुनसरीको इटहरीमा आइतबार बिहानका राति मोटरसाइकल दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत कर्मचारीसहित दुई जनाको मृत्यु भएको छ ।
इटहरीबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल इटहरी उपमहानगरपालिका–७ बालग्राममा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले बताए । आफैं अनियन्त्रित भएर बिहानका राति करिब २ः५० बजेतिर मोटरसाइकल डीभाईडरमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।दुर्घटनामा इनरुवा नगरपालिका–३ का २९ वर्षीय पारस थापा र ३४ वर्षीय सागर रेग्मीको मृत्यु भएको जानकारी डीएसपी हमालले दिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा रेग्मीलाई बिहान ४ः५२ बजेतिर र थापालाई बिहान ५ः११ बजेतिर चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतकमध्ये रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा करार सेवामा कार्यरत कर्मचारी थिए । उनी प्रमुख जिल्ला अधिकारीका स्वकीयका रूपमा कार्यरत रहेका हुन् । अर्का मृतक थापा पनि यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीमै करारमा कार्यरत थिए ।
उनले केही समयअघि मात्रै राजीनामा दिएको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत अनुसन्धान अघि बढाइएको जानकारी डीएसपी हमालले दिए ।