विराटनगर । विराटनगरमा आइतबार बिहान मानवीय संवेदनालाई नै स्तब्ध पार्ने घटना भएको छ । सिटी सफारीको ठक्करबाट घाइते भएका ८२ वर्षीय वृद्धलाई सिटी सफारी चालकले उपचारका लागि भनेर लगेका थिए ।
तर, उपचारका लागि अस्पताल लैजानुपर्ने ती वृद्धलाई चालकले सडकमै छाडेर सिटी सफारीसहित फरार भएको खुलेको छ । केही समयपछि वृद्धको शव सडकमा भेटिएको थियो ।प्रहरीका अनुसार विराटनगर महानगरपालिका–९ ठकुरवाडी रोडमा प्रदेश १–०२–००४ ह ९६७५ नम्बरको सिटी सफारीले विराटनगर–८ का ८२ वर्षीय तीर्थराज बस्नेतलाई ठक्कर दिएको थियो । ठक्करबाट बस्नेत गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा परेर घाइते भएपछि स्थानीयले उद्धार गरी त्यही सिटी सफारीमा राखेर वृद्धलाई उपचारका लागि पठाए । तर, घाइते वृद्धलाई अस्पताल पुर्याएर उपचार गराउनुको सट्टा विराटनगर–७ स्थित मालपोत कार्यालयनजिकै सडकमा छाडेर चालक सिटी सफारी लिएर फरार भएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।
केही समयपछि मालपोत कार्यालयनजिकै वृद्ध मृत अवस्थामा भेटिएका थिए । आइतबार बिहान करिब ६ः३० बजेतिर मालपोत कार्यालयनजिकै एक वृद्ध पुरुष मृत अवस्थामा रहेको सूचना पाएपछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी मकेन्द्रकुमार मिश्रको नेतृत्वमा घटनाको अनुसन्धानका लागि टोली गएको थियो । सुरुमा वृद्धको पहिचान भएन । पछि विराटनगर–८ का माधव बस्नेतले मृतक वृद्ध आफ्नो बुवा रहेको भनेर सनाखत गरिदिएको एसपी कटवालले बताए ।
उनका अनुसार घटना अमानवीयताको हदसम्म पुगेको देखिन्छ । दुर्घटनामा परेर घाइते भएका वृद्धलाई उपचारका लागि लैजानुको सट्टा बीच बाटोमै छाडेर भाग्नुले मानवीय संवेदनामाथि नै गम्भीर प्रश्न उठाएको कटवालको भनाइ छ । ‘अस्पताल लगेर भर्ना गरेको भए वृद्धको ज्यान बच्ने थियो । तर, सडकको किनारमा फालेर चालक फरार भएछन् । पछि मृत्यु भएको अवस्थामा वृद्धको शव भेटियो,’ उनले भने ।
दुर्घटनामा घाइते व्यक्तिको ज्यान जोगाउनुपर्ने अवस्थामा उनलाई सडकमा अलपत्र पारिएको घटनाले स्थानीयलाई समेत स्तब्ध बनाएको छ । प्रहरीले दुर्घटनापछि सिटी सफारीसहित फरार बनेका चालकको खोजी तीव्र बनाएको थियो ।
खोजीका क्रममा बिहान करिब ८ः३० बजेतिर मोरङको कटहरी गाउँपालिका–२ का ५५ वर्षीय अर्जुन भगतलाई उनकै घरबाट पक्राउ गरिएको जानकारी एसपी कटवालले दिए । उनका अनुसार नियन्त्रणमा लिएर चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।
‘शव फेला पर्नसाथ तत्काल डीएसपीको नेतृत्वमा टोली परिचालन गरियो । घटनाको प्रारम्भिक अनुसन्धानबाट वृद्धलाई सिटी सफारीले ठक्कर दिएको र चालकले अर्कै ठाउँमा लगेर सडकमा फालेर फरार भएको पाइयो । तर, सफारी चालकको पहिचान हुन सकेको थिएन । प्रहरी सक्रियताका कारण तत्काल पहिचान गरेर घटनामा संलग्न चालकलाई पक्राउ गर्न सफल भइयो,’ कटवालले भने ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ । पक्राउ परेका चालकमाथि सोधपुछ गर्दै घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।