विकास हाइड्रोपावरको आईपीओ असार २९ गते बाँडफाँट, करिब ३ लाख आवेदकले पाउनेछन् सेयर

विराटनगर । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आइतबार (असार २९) बिहान ९ बजे आईपीओ बाँडफाँट गर्ने भएको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले उक्त समयमा गोलाप्रथामार्फत बाँडफाँट गर्न लागेको हो।

कम्पनीले असार १८ देखि २२ गतेसम्म सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ सार्वजनिक निष्कासन गरेको थियो। तर उक्त आईपीओमा अत्यधिक चासो देखिँदै २१ लाख २० हजार ८७५ जना आवेदकबाट जम्मा २ करोड ५६ लाख २७ हजार ११० कित्ताको माग परेको थियो। माग अत्यधिक भएपछि बाँडफाँट गोलाप्रथामार्फत हुने भएको हो।

गोलाप्रथाबाट कुल २ लाख ९४ हजार २७६ जना भाग्यमानी आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन्।

यसअघि कम्पनीले जारी पूँजीको १० प्रतिशत आयोजना प्रभावित स्थानीयवासीका लागि र अन्य १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ। साथै, कर्मचारीहरूका लागि ७० हजार ९१० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ७७ हजार २७५ कित्ता सेयर छुट्याइएको थियो।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त कम्पनीले कुल ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर सार्वजनिक रूपमा निष्कासन गर्ने अनुमति पाएको थियो।

विकास हाइड्रोपावरले गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ मा निर्माण गरेको ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला जलविद्युत आयोजना २०७९ फागुन १७ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ।

आर्थिक पक्षतर्फ कम्पनीले गत वर्षसम्म १ करोड १९ लाख रुपैयाँ सञ्चित नोक्सानीमा रहे पनि चालु आर्थिक वर्षभित्र ४ करोड १३ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ। गत वर्षको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५५ पैसा र प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ४३ पैसा रहेको छ।