काठमाडौं । कोशीसहित तीन प्रदेशका केही स्थानमा आज (बुधबार) भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले कोशीका हिमाली, पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने जनाएको हो ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ ।
कोशी प्रदेशसहित देशभर साधारणतया बदली रहनेछ । कोशीका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ । प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
कोशी प्रदेशको हिमाली, पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम हुनसक्ने चेतावनी दिइएको छ । त्यस्तै बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ । अन्य प्रदेशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
राति पनि कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका केही स्थानमा तथा मधेश र सुदूरपश्चिमका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायात र अन्य क्षेत्रमा असर पर्नसक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचना हेर्नसमेत महाशाखाले अनुरोध गरेको छ ।