कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज (बिहीबार) पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने देखिएको छ ।

महाशाखाका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ । यसको प्रभावस्वरूप कोशीसहित मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागमा पनि आंशिक बदली रहेको छ ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बिहीबार दिउँसो देशभर सामान्यतया बदली रहने र विभिन्न प्रदेशका हिमाली, पहाडी तथा तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान छ ।

कोशी प्रदेशको पहाडी तथा तराई भू–भाग, बागमती प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

रातको समयमा पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा वर्षा हुने सम्भावना छ । यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

कोशी र मधेश प्रदेशका केही स्थानसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत राति वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भारी वर्षा हुनसक्ने ठाउँमा बाढी, पहिरो तथा डुबानको जोखिमलाई ध्यान दिई आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ ।