कोशी सहित तीन प्रदेशका पहाडी र हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले आज (शुक्रबार) देशका अधिकांश भू–भागमा बदलीसहित वर्षाको सम्भावना देखिएको हो ।

हाल बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । त्यस्तै, कोशी, बागमती र गण्डकीका धेरैजसो पहाडी क्षेत्रमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

रातको समयमा कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका हिमाली भू–भागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

राति कोशी र गण्डकीका पहाडी भू–भागका केही स्थानमा तथा बागमतीका थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, कोशी प्रदेशको तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा वर्षा हुन सक्नेछ । लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।