कोशीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भूभागमा मनसुनी र पश्चिमी वायुको प्रभाव कायमै रहँदा शनिबार (आज) कोशीसहित पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

कोशी, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । कोशी, मधेस, बागमती प्रदेशको तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ ।

 

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमामा आंशिक बादल लाग्नेछ। देशका तराई भूभागमा आंशिक बादल लाग्नेछ।

 

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मध्यमसम्मको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। मधेस प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

 

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभाग तथा देशको तराईमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा बिहानीपख हुस्सु लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।