सुनवर्षीमा पानी नपरेपछि भ्यागुताको विवाह

सुनवर्षी । असार महिना अन्त्यतिर लाग्दा समेत पर्याप्त वर्षा नहुँदा मोरङको सुनवर्षी नगरपालिकाका किसानहरू चिन्तित बनेका छन्। पानीको अभावका कारण धान रोप्न नपाएका र रोपिएका धानसमेत सुक्न थालेपछि स्थानिय बासिन्दाले परम्परागत आस्था अनुसार भ्यागुताको विवाह गराएका छन्।

सुनवर्षी नगरपालिका वडा नं. १ र २ का स्थानिय बासिन्दाहरूले आइतबार साँझ विशेष धार्मिक विधिअनुसार भ्यागुताको जोडी विवाह गराएका हुन्। विवाहमा हिन्दू परम्पराअनुसार विधिपूर्वक पूजा–आजासहित विवाहको सम्पूर्ण प्रक्रिया सम्पन्न गरिएको थियो। वर्षा होस् भन्ने कामना गर्दै गरिएको यो कार्यक्रम लामो समयदेखि रहेको परम्परागत विश्वासमा आधारित हो, जसअनुसार भ्यागुताको विवाह गराएमा वर्षा हुने जनविश्वास छ।

स्थानीय बासिन्दा सोभित रायामाझीका अनुसार, “समयमै धान रोप्न नपाउँदा फसल उत्पादनमा समस्या हुन्छ। रोपाइँका लागि राखिएको बिउसमेत सुक्न लागेको छ। त्यसैले सबैले मिलेर आस्थाको रूपमा भ्यागुताको विवाह गरेका हौं।” उनका अनुसार, विवाह सम्पन्न भएसँगै मौसममा पनि केही परिवर्तन देखिएको छ र वर्षा पर्न थालेको छ।

भ्यागुताको विवाह समारोहमा वडा नं. २ का वडा अध्यक्ष विनोद राजवंशी, स्थानीय समाजसेवी ममला देवी राजवंशी, प्रमिला राजवंशी, रुखमुनी राजवंशी, सोभित रायामाझी लगायत दर्जनौं स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।

स्थानीय बासिन्दाहरूका अनुसार विगतमा पनि यस्ता विधि अपनाउँदा वर्षा भएको विश्वास गरिन्छ। यसरी परम्परागत मान्यता र सामुदायिक सहभागिताबाट वर्षाका लागि गरिएको प्रयास अहिले चर्चाको विषय बनेको छ।