कोशीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा आज (शनिबार) मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको हो ।

महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा बदली र वर्षाको अवस्था देखिएको छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ । अन्य क्षेत्रमा भने आंशिक बदली रहेको छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

शनिबार दिउँसो कोशी प्रदेशका सबै भू–भागमा तथा देशका पहाडी र हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ । तराई क्षेत्रमा भने आंशिक बदली हुने अनुमान छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्नेछ । कोशी प्रदेशको तराई क्षेत्रमा समेत एक–दुई स्थानमा वर्षाको सम्भावना छ ।

राति पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । यद्यपि, तराईका केही भू–भागमा बिहानपख हुस्सु लाग्न सक्नेछ । राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।