इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

आइतबार ,कार्तिक २२

इटहरी / सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोल पम्प नजिक कोशी लोकमार्गमा गएराति भएको दुर्घटनामा दुई जनाले ज्यान गुमाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राति पौने १२ बजे उत्तरबाट दक्षिणतर्फ गइरहेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । दुर्घटनालगत्तै प्रहरीले उद्धार गरी उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्‍याए पनि चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार दुर्घटनामा मृत्यु भएका दुवै जनाको पहिचान खुल्न सकेको छैन । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।