विराटनगर / विराटनगरस्थित न्यूरो अस्पतालमा बिरामी भेट्न आएका आफन्तको मोटरसाइकल चोरी हुने क्रम एक पछि अर्को बढ्दो छ । एक साताअघि पत्रकार शम्भु पोखरेलको मोटरसाइकल चोरी भएको घटना सेलाउन नपाउँदै बिहीबार बिहान फेरि अर्को मोटरसाइकल चोरी भएको छ । अस्पताल परिसर र आसपासको क्षेत्रमा शृंखलाबद्ध रूपमा मोटरसाइकल चोरी हुन थालेपछि अस्पताल व्यवस्थापन र प्रहरीको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ ।
बिहीबार बिहान करिब ९ः३५ बजे बिरामी दाजु सरोज कामतलाई भेट्न अस्पताल पुगेका विराटनगर–१० निवासी अमन कामतको सुपर स्प्लेन्डर मोटरसाइकल चोरी भएको हो । बिरामीलाई भेटेर करिब आधा घण्टापछि फर्किँदा पार्किङ गरेको स्थानबाट मोटरसाइकल गायब भएको उनले बताए ।
‘बिरामीलाई भेटेर आधा घण्टामा आउँदा मोटरसाइकल चोरी भइसकेको रहेछ,’ अमनले भने, ‘म निकै समस्यामा परेको छु । मोटरसाइकल खोजी गर्न सहयोग गरिदिनुहोस् ।’
अस्पतालमा उपचारका लागि आउने बिरामी र उनीहरूका आफन्तले सवारीसाधन पार्किङ गर्ने उचित व्यवस्था नहुँदा सडक किनार र अस्पताल आसपासका क्षेत्रमा मोटरसाइकल राख्नुपर्ने बाध्यता छ । अस्पतालले तोकेको पार्किङस्थलसमेत व्यवस्थित नहुँदा त्यहाँ सवारी पार्किङ गर्न समस्या हुने गरेको आफन्तको गुनासो छ । पार्किङस्थलमा इँटाका टुक्रा र गिट्टी छरिएका कारण सवारीसाधन राख्न असहज हुने गरेको उनीहरू बताउँछन् ।
अस्पतालमा करोडौं रुपैयाँ खर्च गरेर भौतिक संरचना निर्माण गरिए पनि सवारीसाधनको सुरक्षा र निगरानीमा सामान्य लगानीसमेत हुन नसकेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् । अस्पताल आसपासका क्षेत्रमा पर्याप्त सिसी क्यामेरा नहुँदा चोरीका घटना बढिरहेको उनीहरूको आरोप छ ।
स्थानीयका अनुसार अस्पताल पूर्वतर्फ ओम शान्ति जाने सडक आसपास पछिल्लो दुई महिनामा मात्रै १९ वटाभन्दा बढी मोटरसाइकल चोरी भइसकेका छन् । पटकपटक चोरीका घटना हुँदा पनि प्रभावकारी निगरानी र नियन्त्रणको प्रयास नभएको उनीहरूको गुनासो छ ।
‘यो कुरा अस्पताल व्यवस्थापनलाई थाहा छ तर यस्ता विषयमा चासो दिएको देखिँदैन,’ नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने, ‘बिरामीको उपचारमा महँगो शुल्क तिरेर अस्पताल आएका आफन्तको मोटरसाइकल चोरी हुँदा उनीहरूलाई कति ठूलो समस्या पर्छ भन्ने अस्पतालले बुझ्नुपर्छ । बजार घुम्न आएका मानिसका होइनन्, बिरामी भेट्न आएका आफन्तका सवारीसाधन चोरी भइरहेका छन् ।’
अस्पतालमा व्यवस्थित पार्किङ र सुरक्षाको प्रत्याभूति नहुँदा बिरामीका आफन्त सडक तथा फुटपाथमा सवारीसाधन राख्न बाध्य भएको स्थानीय व्यापारी बताउँछन् । पार्किङस्थल व्यवस्थित भए सडक किनारमा सवारी राख्नुपर्ने अवस्था नै नआउने उनीहरूको भनाइ छ ।
‘पार्किङ व्यवस्थित भएको भए कसैले पनि सडक र फुटपाथमा मोटरसाइकल राख्नुपर्ने थिएन,’ एक स्थानीय व्यापारीले भने, ‘हरेक हप्ताजसो मोटरसाइकल चोरी भइरहेको छ । तर अस्पताल व्यवस्थापन र प्रहरीले प्रभावकारी चासो दिएको देखिँदैन ।’
अस्पतालमा उपचारका लागि आउने बिरामी र आफन्तको सुरक्षासँगै उनीहरूले प्रयोग गर्ने सवारीसाधनको सुरक्षाको जिम्मेवारीसमेत सम्बन्धित निकायले गम्भीरतापूर्वक लिनुपर्ने स्थानीयको माग छ । पटकपटक चोरी भइरहँदा पनि नियन्त्रणको प्रभावकारी पहल नहुनुले अस्पताल आसपासको सुरक्षा अवस्था कमजोर रहेको देखाएको छ ।