काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजा आराधना गरी मीठा परिकार खान दिएर मनाइँदै छ। हिन्दु धर्ममा गाईलाई पवित्र जनावरका रूपमा सम्मान गर्ने परम्पराअनुसार आज गाईलाई विधिपूर्वक पूजा गरी माला, टीका लगाएर मीठा परिकार खुवाउने गरिन्छ।
गाईले दिने दूध आमाको दूध जत्तिकै पोसिलो हुने धार्मिक तथा सांस्कृतिक विश्वासका कारण गाईलाई गौ माताका रूपमा सम्मान गरिन्छ। दूध, गोबर र गहुँतबाट धार्मिक तथा दैनिक जीवनमा विभिन्न उपयोग हुने भएकाले पनि गाईको विशेष महत्त्व रहेको छ।
धार्मिक मान्यताअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खान दिँदा पुण्य प्राप्त हुने विश्वास छ। नेपालका केही स्थान तथा समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाई पूजा गर्ने चलन रहे पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको प्रारम्भमा गाई पूजा गर्ने परम्परा छ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीले विभिन्न धार्मिक तथा पितृ कार्यमा गाई दान गर्ने परम्परासमेत रहेको छ। पछिल्लो समय गाईको अभावमा सङ्कल्प गरेर रकम राख्ने चलन बढ्दै गएको धर्मशास्त्रका जानकार प्राडा रामचन्द्र गौतमले बताए।
गाईलाई राष्ट्रिय जनावरका रूपमा समेत सम्मान गरिएको छ। धार्मिक विश्वासअनुसार साउन शुक्ल पूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षा बन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले वैतरणी नदी तारेर स्वर्ग पुर्याउन सहयोग गर्ने मान्यता रहिआएको छ।