
विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको छ। मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १/१ रुपैयाँ घटाइएको निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य पहिलो, दोस्रो र तेस्रो वर्गका लागि क्रमशः १४५ रुपैयाँ ५० पैसा, १४७ रुपैयाँ र १४८ रुपैयाँ तोकिएको छ।
त्यस्तै, पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा १५७ रुपैयाँ ५० पैसा, दोस्रोमा १५९ रुपैयाँ र तेस्रो वर्गमा १६० रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।
भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मंगलबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजनको निर्णय गरेको हो।
निगमले सार्वजनिक गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै उपभोक्तालाई राहत दिन मूल्य समायोजन गरिएको उल्लेख गरिएको छ।