देशभरका साना नदीमा बाढीको मध्यम जोखिम, सतर्क रहन आग्रह

विराटनगर । देशभरका अधिकांश सानाठूला नदीहरूमा अबका तीन दिन पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले नदी किनार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार, बुधबार अर्थात असार ३२ गते झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, इलाम, दोलखा, सिन्धुपाल्चोक, सोलुखुम्बु, संखुवासभा, सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, तनहुँ, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, पर्वत, अर्घाखाँची, पाल्पा, सल्यान, अछाम, कैलाली र कञ्चनपुर जिल्लामा आकस्मिक बाढीको ‘मध्यम’ जोखिम रहने सम्भावना रहेको छ।

यी जिल्लाबाट बहने साना नदीहरूमा पानीको बहाव एकाएक बढ्ने सम्भावना भएकाले नदी किनार, खोला नजिकको आवास क्षेत्र तथा तटवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाले विशेष गरी बेलुका र रातको समयमा वर्षा भइरहने सम्भावनाले नदीहरूको सतह बढ्न सक्ने जनाएको छ। जोखिम न्यूनीकरणका लागि स्थानीय तह र सुरक्षा निकायलाई पूर्वतयारी र सचेतना कार्यक्रम तीव्र बनाउन पनि सिफारिस गरिएको छ।