हिमालयन बैंकद्वारा एफपीओ निष्कासन, आजदेखि सर्वसाधारणका लागि आवेदन खुला

विराटनगर । हिमालयन बैंक लिमिटेडले आज (बुधबार) साउन १ गतेदेखि सर्वसाधारणका लागि थप सार्वजनिक सेयर (एफपीओ) निष्कासन गरेको छ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुसार सर्वसाधारण समूहमा कम्तीमा ३० प्रतिशत सेयर हिस्सा पुर्‍याउन बैंकले एफपीओ जारी गर्न लागेको हो। हाल बैंकको सर्वसाधारण सेयर स्वामित्व २७ प्रतिशत मात्र रहेको छ।

यस प्रयोजनका लागि बैंकले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गरेको छ। एफपीओको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी १५७ रुपैयाँमा बिक्री गरिनेछ।

एफपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन्। अनलाइन प्रणाली ‘मेरोसेयर’ वा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिने व्यवस्था छ। न्यूनतम १० कित्तादेखि अधिकतम माग भर्ने सकिनेछ।

केयर रेटिङ नेपालले हिमालयन बैंकलाई ‘केयर एनपी बीबीबी (CARE-NP BBB)’ रेटिङ प्रदान गरेको छ, जसले मध्यम स्तरको सुरक्षा संकेत गर्दछ।

हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको छ। मंगलबार बजार बन्द हुँदाको सेयर मूल्य २३४ रुपैयाँ रहेको थियो।

बैंकको हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८१/८२ को अपरिस्कृत वित्तीय विवरणअनुसार,

प्रतिसेयर आम्दानी (EPS) – ३ रुपैयाँ ८ पैसा

प्रतिसेयर नेटवर्थ – १७१ रुपैयाँ ४४ पैसा

सञ्चित नोक्सानी – ७ अर्ब ३६ करोड रुपैयाँ रहेको छ।