अमरदहबाट चोरीको साइकलसहित लागुऔषध बरामद, एक जना युवक पक्राउ

विराटनगर ।  मोरङको सुनवर्षी नगरपालिका–२ स्थित अमरदह बजारमा पार्किङ गरिएको साइकल चोरी गर्ने क्रममा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति सुनवर्षी नगरपालिका–६ पटियापारा निवासी अन्दाजी २५ वर्षीय सुरेश बुढाथोकी हुन्।

प्रहरीका अनुसार २०८२ साउन ३१ गते साँझ ५ बजे तिर साइकल चोरी भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले बुढाथोकीलाई रंगेहात पक्राउ गरेको हो। उनले चोरेको साइकल सुनवर्षी–४ जागी टोलका अन्दाजी ५१ वर्षीय सिताराम राजबंशीको भएको खुलेको छ।

पक्राउपछि सुरेश बुढाथोकीको शरीर जाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागुऔषधसमेत बरामद गरिएको छ। प्रहरीका अनुसार उनको साथबाट नाइट्राजेपाम (Nitrazepam) ट्याब्लेट १४ पत्ता (कुल १३१ वटा) र क्यरिस्पास (Carispas) ट्याब्लेट ७ पत्ता (कुल ५२ वटा) फेला परेको छ।

हाल उनलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखी चोरी र लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।