साउने संक्रान्ति आज देशभर श्रद्धा र उत्साहका साथ मनाइँदै

विराटनगर । सौरमासअनुसार हरेक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) संक्रान्ति पर्व आज देशभर श्रद्धा, पूजा र पारिवारिक मेलमिलापका साथ मनाइँदैछ। सूर्यले मिथुन राशिको यात्रा पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने आजको दिनलाई प्राचीन परम्पराअनुसार विशेष महत्वका साथ मनाइन्छ।

आजदेखि सूर्यको गति दक्षिणतर्फ लाग्ने भएकाले दक्षिणायनको आरम्भ पनि यही दिन मानिन्छ। हिन्दू धर्मशास्त्रमा माघ १ बाट सुरु हुने उत्तरायण र साउन १ बाट सुरु हुने दक्षिणायन दुवैलाई शुभ र महत्वपूर्ण दिनका रूपमा लिइन्छ।

साउने संक्रान्ति विशेषगरी स्नान, दान, र आफन्तसँग मेलमिलाप गर्ने पर्व हो। अधिकांश नेपालीले असार महिनाभर खेतिपातीमा व्यस्त हुने भएकाले साउन १ लाई विश्राम र खुसी साट्ने दिनका रूपमा मनाउने चलन छ।

धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार, असारभर हिलोमैलोको सम्पर्कले लाग्ने सक्ने छालाका रोगहरू निवारण गर्न आजको दिन लुतो फाल्ने परम्परा रहेको छ।

यस अवसरमा कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधीय वनस्पति प्रयोग गरी ‘कण्डारक’ नामक राक्षसको पूजा गरेर अगुल्टो फाल्ने चलन रहिआएको छ।

लुतो फाल्दा नेपाली समाजमा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने र ढोका बन्द गर्ने जस्ता अनौठा र सांस्कृतिक रूपमा रोचक परम्पराहरू पनि देखिन्छन्।

साउन महिनालाई विशेषगरी भगवान् शिवको प्रिय महिना मानिने हुँदा यस महिनाभर भक्तजनहरूले शिवको पूजा, व्रत, तथा नित्य उपासना गर्ने गर्दछन्।

यसै महिनामा महिलाहरूले हरियो चुरा, मेहन्दी, रातो–हरियो पहिरन प्रयोग गरी प्रकृतिप्रतिको आस्था र जीवनशैलीसँगको नाता झल्काउने चलन छ। साउन सुरु भएसँगै बजारमा हरियो चुरा र लुगा लगायतका श्रृङ्गार सामग्रीको व्यापार उल्लेखनीय रूपमा बढ्ने गरेको छ।

देशका विभिन्न स्थानमा आजको दिन साउने संक्रान्तिसम्बन्धी विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना भइरहेका छन्।