
विराटनगर। प्रदेश १ का विभिन्न जिल्लामा लागू औषध ओसारपसारमा संलग्न ४ जना महिला सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङ, सुनसरी र उदयपुर जिल्लाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार, असार ३२ गते लागू औषधको कारोबार भईरहेको विशेष सूचनाको आधारमा सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट खटिएको प्रहरीले धरानका ६ जना युवायुवतीलाई लागू औषधसहित पक्राउ गरेको हो। धरान–१० का २४ वर्षीय अंकित राई, धरान–६ का २१ वर्षीय भरत मगर, धरान–१३ का २३ वर्षीय सागर राई, धरान–५ की २१ वर्षीया ज्योती राई, २६ वर्षीया नुमा लिम्बु, र २३ वर्षीया सुजना राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट ट्रामाडोल १,०६२ क्याप्सुल, डिकोलिक ८४२ ट्याब्लेट, र डिभोमिन २२० चक्की बरामद गरिएको छ।
त्यस्तै, मोरङको रंगेली नगरपालिका–६ मा इलाका प्रहरी कार्यालय रंगेलीले नियमित चेकजाँचको क्रममा झापा दमक–९ का ३५ वर्षीय शिव कुमार सोरेन र कमल गाउँपालिका–१ का ३३ वर्षीय आकाश खड्कालाई नाईट्राजाम १५५ चक्कीसहित नियन्त्रणमा लिएको हो।
उता, उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले बेलका नगरपालिका–८ की २१ वर्षीया रेजिना राईलाई ट्रामाडोल ७६ क्याप्सुलसहित पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका सबैमाथि लागूपदार्थ सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले लागू औषध ओसारपसार र सेवनविरुद्ध थप निगरानी र कडा कारबाही गर्ने जनाएको छ।