
विराटनगर । वैदिक सनातन हिन्दू धर्मावलम्बीका लागि विशेष महत्वको साउन महिनाको पहिलो सोमबार आज श्रद्धापूर्वक मनाइँदैछ। साउन सोमबारको अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। बिहान तीन बजेदेखि नै मन्दिरका चारै ढोका भक्तजनका लागि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख अरुण विसेटका अनुसार, आज दिनभरमा करिब पाँच लाख भक्तजनले मूल मन्दिरमा प्रवेश गरी दर्शन गर्ने अपेक्षा गरिएको छ। यस्तो भीडलाई व्यवस्थापन गर्न कोषले विशेष योजना बनाएको बताइएको छ।
साउन महिनाको सोमबार भगवान् शिवको आराधना गर्ने विशेष दिन मानिन्छ। आजको दिन महिलाहरू विशेष रूपमा विधिपूर्वक व्रत बसेर शिवालयमा पूजाआजा गर्दछन्। धार्मिक विश्वास अनुसार, साउनको सोमबार स्नान गरी शिवको पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने र अटल सौभाग्य प्राप्त हुने विश्वास गरिन्छ।
विशेष पूजाका लागि मन्दिरले रु ७,५०० बराबरको टिकट व्यवस्था गरेको छ, जुन न्यूनतम शुल्क रहेको कोषले जनाएको छ।
भक्तजनको सुविधाका लागि विभिन्न सामाजिक संस्थाले सहयोग गरेका छन्। मारवाडी समाजले सोमबार मात्र नभइ अन्य दिन पनि निःशुल्क भोजनको व्यवस्था मिलाएको छ। यस्तै, भक्तजनको आवागमन सहज होस् भन्ने उद्देश्यले चक्रपथ क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन गरिएको छ। चारवटा बसले परिक्रमा गर्दै भक्तजनलाई सेवा दिइरहेका छन्, र यो व्यवस्था साउन महिनाका सबै सोमबारसम्म निरन्तर रहनेछ।
पशुपतिनाथ मन्दिर युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक र धार्मिक स्थल हो। वर्षेनी साउन महिनामा यहाँ भक्तजनको उल्लेख्य भीड लाग्ने गरेको छ।