
सिरिया । गत शनिबारदेखि सिरियाको ड्रुज बहुल स्वेडा क्षेत्रमा भड्किएको साम्प्रदायिक हिंसामा परी हालसम्म ९४० जनाको मृत्यु भएको पुष्टी भएको छ। बेलायतस्थित ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’ का अनुसार यो झडप पछिल्लो समयको सबैभन्दा घातक हिंसामध्ये एक बनेको छ।

स्वेडा क्षेत्रमा ड्रुज समुदाय र बेदुइन जनजातिबीच सुरु भएको झडप यति भयावह बनेको छ कि दुई दिनसम्म मेसिनगन र मोर्टारका आवाजले सहर थर्किएको स्थानीय स्रोतले जनाएका छन्। हिंसा रोक्न इस्लामिक नेतृत्वको सिरियाली सरकारले प्रयास गरे पनि युद्धविराम लागू गर्न असफल भएको बताइएको छ।
सिरियाली गृह मन्त्रालयले शनिबार राति हिंसा नियन्त्रणमा आएको र बेदुइन लडाकुहरू हटाइसकेको दाबी गरे पनि स्थानीय मिडियाले यसलाई अस्वीकार गर्दै हिंसा अझै जारी रहेको उल्लेख गरेका छन्।
सरकारले झडप नियन्त्रणका लागि सुरक्षाकर्मीहरू तैनाथ गरे पनि सुरक्षा बल र ड्रुज लडाकुबीच थप झडप भएको जनाइएको छ। घटनास्थलमा तनाव चुलिदै गएको र स्थिति नियन्त्रणबाहिर पुगेको रिपोर्टहरू आएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यद्यपि मृतकको वास्तविक संख्या अझै पुष्टि हुन बाँकी रहेको जनाएका छन्। तर, बेलायतस्थित मानवअधिकार संस्थाले दिएको तथ्यांक अनुसार, हिंसामा परी हालसम्म ९४० जनाले ज्यान गुमाइसकेका छन्।
सिरियामा दशक लामो गृहयुद्धले विभिन्न जातीय, धार्मिक र राजनीतिक समूहहरूबीच तनावलाई बलियो बनाएको छ। पछिल्ला घटनाक्रमले मुलुकको दक्षिणी भागमा फेरि अस्थिरता चुलिएको संकेत दिएको विश्लेषकहरूको धारणा छ।