
विराटनगर । धनुषामा एक युवकको छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक युवती पक्राउ परेकी छन्। पक्राउ पर्नेमा महोत्तरीकी जुली झा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ। उनले महोत्तरीका ३२ वर्षीय बिमलेश यादवलाई जनकपुरधामस्थित एक गेस्ट हाउसमा छुरा प्रहार गरी हत्या गरेको आरोप छ।

प्रहरीका अनुसार जुली झा र बिमलेश यादवबीच लामो समयदेखि चिनजान तथा आर्थिक लेनदेन सम्बन्ध रहँदै आएको थियो। गत शनिबार राति उनीहरू जनकपुरधामको एसपी एन्ड गेस्ट हाउसको कोठा नम्बर १०२ मा बसेका थिए।
त्यही रात करिब ३ बजेतिर बिमलेश यादव नाङ्गो अवस्थामा गम्भीर घाइते र रगताम्य अवस्थामा होटलको पहिलो तलाबाट खसेको दृश्य होटलको सीसीटीभीमा कैद भएको प्रहरीको भनाइ छ। त्यसको केही मिनेटपछि जुली झा होटलको पछाडिको गेटबाट भागिरहेको दृश्य पनि सीसीटीभी फुटेजमा देखिएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोलीले गम्भीर घाइते अवस्थाका यादवलाई उपचारका लागि अस्पताल पुर्याए पनि आइतबार बिहान उनको मृत्यु भएको थियो।
प्रहरीले जुली झालाई आइतबार दिउँसो महोत्तरीतर्फ भाग्दै गर्दा पक्राउ गरेको हो। घटनाको कारण र पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।