विराटनगर। संघीय संसद् राष्ट्रिय सभाको बैठक आज दिउँसो १:१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा दुई महत्वपूर्ण विधेयकमाथि दफावार छलफलका लागि प्रस्ताव पेश गरिने कार्यसूची तय गरिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘संघीय निजामती सेवा विधेयक, २०८०’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेश गर्ने कार्यक्रम छ।
त्यस्तै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सोही समितिमा पठाउने प्रस्ताव राख्नेछन्।
साथै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन्।
यसैबीच, प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति का बैठकहरू पनि आजै बस्ने कार्यतालिका तय गरिएको छ।
कानुन समितिको बैठकमा विश्वव्यापी आवधिक समीक्षा (UPR) सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगसँग छलफल गर्ने कार्यक्रम समेत रहेको छ।
बैठकहरूले हाल चर्चामा रहेका विधेयकहरूलाई थप विश्लेषण तथा संसोधनका लागि समितिमा पठाउने तयारीले संसदमा नीति निर्माण प्रक्रिया सशक्त हुँदै गएको संकेत देखिएको छ।