
बिराटनगर । बन्यजन्तुबाट बालीनालीको संरक्षण गर्न अर्घाखाँचीमा पहिलो पटक २० जना हेरालु (कर्मचारी) नियुक्ति गरिएको छ। बाँदर र बँदेलको प्रकोप बढी रहेको क्षेत्रलाई लक्षित गर्दै डिभिजन वन कार्यालय अर्घाखाँचीले यो पहल गरेको हो।

डिभिजन वन कार्यालयका प्रमुख मोहन श्रेष्ठका अनुसार जिल्लाका ६ स्थानीय तहका १० स्थानमा दुई/दुई जनाको दरले २० हेरालु खटाइएका छन्। हेरालुहरूले मकैबाली जोगाउने उद्देश्यले साउनदेखि कार्तिक ५ गतेसम्म काम गर्नेछन्।
बन कार्यालयले हेरालुहरूलाई विशेष अभिमुखिकरण (ओरिएन्टेशन) समेत प्रदान गरिसकेको छ। हेरालुहरूले मासिक १० हजार रुपैयाँ पारिश्रमिक र सञ्चार खर्च पाउने छन्।
डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काका अनुसार बाँदर र बँदेलबाट बढी प्रभावित सन्धिखर्क नगरपालिकाको किमडाँडा, पटुवाथुम, पाणिनी गाउँपालिकाको पाली, अडगुरी, छत्रदेव गाउँपालिकाको चिदीका, बल्कोट, केरुङ्गा, अर्घातोष र मालारानी गाउँपालिकाको खनलगायतका क्षेत्रमा हेरालुहरू परिचालन गरिएका हुन्।
यस कार्यमा शितगंगा नगरपालिकास्थित १० वटा सामुदायिक वनहरूले मासिक दुई लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेका छन्।
हेरालुहरूले हरेक दिन आफ्नो कार्य विवरण डिभिजन वन कार्यालयमा पठाउनु पर्ने व्यवस्था गरिएको छ। मकै, सिमी, बोडी, फर्सी, कांक्रालगायतका बालीमा सिजनअनुसार हुने बन्यजन्तुको क्षति न्यूनीकरणका लागि यो कदम चालिएको जनाइएको छ।
वन कार्यालयका अनुसार यदि यो प्रयास प्रभावकारी देखिए आगामी वर्ष अझ प्रभावशाली ढंगमा यो योजना विस्तार गरिनेछ।