
विराटनगर / विराटनगर ९ मा रहेको ग्रिनल्याण्ड कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै आज भव्य अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा कलेजमा भर्ना भएका ७५१ जना विद्यार्थीहरूको सहभागिता रहेका थिए । कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल दिनेशकुमार दाहालले ग्रिनल्याण्ड कलेजले गुणस्तरीय शिक्षाको माध्यमबाट विद्यार्थीको भविष्य उज्ज्वल बनाउने लक्ष्यसहित अघि बढिरहेको बताए । ‘हामी केवल किताबी ज्ञानमै सीमित छैनौं,’ उनले भने, ‘विद्यार्थीलाई नैतिक मूल्य, व्यवहारिक सीप र रोजगारसँग जोडिने शिक्षा दिन हामी प्रतिबद्ध छौं ।’ प्रिन्सिपल दाहालका अनुसार शिक्षासँगै शिष्टाचार, अनुशासन र व्यावसायिक क्षमताको समन्वय गर्ने वातावरण कलेजले निर्माण गर्दै आएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाइ, मोरङका प्रमुख जीवन गड्तौलाले नयाँ पुस्तालाई प्रविधिमैत्री र रोजगारमुखी बनाउने खालको शिक्षामा जोड दिनुपर्ने बताए । ‘समय बदलिँदै छ, अब केवल किताबको भरमा भविष्य बन्न सक्दैन,’ उनले भने, ‘विद्यार्थीलाई आत्मनिर्भर बनाउने शिक्षा प्रणालीको विकास गर्न जरुरी छ, र यस दिशामा ग्रिनल्याण्ड कलेजको प्रयास सराहनीय छ ।’
कलेजका निर्देशक इश्वरीप्रसाद मिश्रले अभिमुखिकरण कार्यक्रममा सहभागी सबै विद्यार्थीलाई स्वागत गर्दै सफल शैक्षिक यात्राको शुभकामना व्यक्त गरे । कलेजका निर्देशक पवन साहले विद्यार्थीहरूलाई कलेजको वातावरण, अनुशासन र अवसरबारे जानकारी दिँदै अभिभावकहरूको अपेक्षालाई पुरा गर्न विद्यार्थीहरू स्वयं जिम्मेवार बन्नुपर्ने धारणाराखे ।
कार्यक्रममा विद्यार्थी पक्षबाट पनि अभिव्यक्ति आएको थियो । विज्ञान संकायमा भर्ना भएका विद्यार्थी दिपरशान सुवेदीले ग्रिनल्याण्ड कलेजको शैक्षिक पूर्वाधार, अनुjभवी शिक्षक र सफल नतिजाका कारण आफूले यहाँ अध्ययन रोजेको बताए । अर्की विद्यार्थी राधिका भट्टराईले कलेजले प्रदान गर्ने गुणस्तरीय शिक्षाबाट आफ्नो लक्ष्य प्राप्त गर्ने विश्वास व्यक्त गरिन् ।
अभिमुखिकरण कार्यक्रम सांस्कृतिक प्रस्तुतिले अझ आकर्षक बनाइएको थियो । विद्यार्थीहरूले विभिन्न नृत्य प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरे । ग्रिनल्याण्ड कलेजमा विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्ट पठनपाठन हुने गरेको छ ।