गाजामा भोकमरीले गर्दा एकै दिनमा थप १० जनाको मृत्यु

रफाह । गाजामा भोकमरीका कारण थप १० जनाको मृत्यु भएको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यो तथ्यांक २४ घन्टायताको हो । २०२३ को अक्टोबर ७ यता गाजामा जारी युद्धमा यसरी मर्नेको संख्या १११ पुगेको मन्त्रालयले जनाएको छ ।

खान युनुसको नासेर अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर अहमद अल–फर्राले कुपोषणका कारण कमजोर भएका बिरामीहरू हरेक दिन आउने गरेका बताएका छन् । आफूकहाँ आउने बालबालिकामा कुपोषणको स्तर फरक-फरक हुने गरेको पनि उनले बताए । उनले भने, ‘यस्तो संवेदनशील बिन्दुमा पुग्छौँ कि भनेर हामी डराइरहेका थियौँ, तर अब हामी त्यहीँ पुगेका छौँ ।’

यसअघि स्वास्थ्य मन्त्रालयका प्रवक्ताले मंगलबार पछिल्लो ४८ घण्टामा १२ बालबालिकासहित ३३ जनाको मृत्यु भएको बताएका थिए । २०२३ मा युद्ध सुरु भएदेखि कुपोषणका कारण मृत्यु हुनेको कुल संख्या १०१ पुगेको र यीमध्ये ८० बालबालिका भएको भनिएको थियो ।

अमेरिका र इजरायल समर्थित गाजामा मानवीय फाउन्डेसनद्वारा राहत वितरण मेको अन्त्यमा सुरु भएदेखि राहत सामग्री प्राप्त गर्ने क्रममा लगभग हरेक दिन प्यालेस्टिनीहरू मारिएको खबर आइरहेको छ ।