
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा घरायसी सम्पत्ति विवादका कारण एक छोराले आफ्नै बाबुको हत्या गरेका छन्। बुधबार बिहान मोहम्मद रियाज अन्सारीले आफ्ना ६० वर्षीय बाबु सविव अन्सारीमाथि छुरा प्रहार गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाका अनुसार, रियाजले बाबुको छाती र ढाडमा छुरा प्रहार गर्दा गम्भीर घाइते भएका सविव अन्सारीलाई तत्काल विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरीले हत्यामा संलग्न छोरा मोहम्मद रियाज अन्सारीलाई पक्राउ गरी घटनासम्बन्धी थप अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार, लामो समयदेखि चलिरहेको घरायसी जग्गा विवाद नै हत्याको कारण रहेको खुलेको छ।
स्थानीयका अनुसार मृतक सविव अन्सारी शान्त स्वभावका व्यक्ति थिए। तर, परिवारभित्र सम्पत्ति बाँडफाँटका विषयमा विवाद चुलिँदै गएकाले घटनाले उग्र रूप लिएको उनीहरूले बताएका छन्।