हाउस अफ लर्ड्समा अभिनेत्री मनिषा कोइरालालाई सम्मान

विराटनगर। नेपाली अभिनेत्री मनिषा कोइराला बेलायतको माथिल्लो सदन हाउस अफ लर्ड्स मा आयोजित एक विशेष समारोहमा सम्मानित भएकी छन्। महिला सशक्तीकरण, स्वास्थ्य सचेतना, पुनर्जीवन र क्यान्सर पीडितहरूको सहयोगमा चलचित्र र समाजसेवामार्फत पुर्‍याएको योगदानका लागि कोइरालालाई उक्त सम्मान प्रदान गरिएको हो।

हाउस अफ लर्ड्सका सदस्य लर्डस् रेमि रेन्जर सिविई ले अभिनेत्री कोइरालालाई सम्मान गर्दै भने, “चलचित्रको माध्यमबाट महिलाको आवाज बुलन्द पार्न, स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन र कठिन परिस्थितिमा परेका महिलालाई प्रेरणा दिने कार्यमा कोइरालाको योगदान उल्लेखनीय छ।”

सम्मानित भएपछि कोइरालाले आफू गद्गद भएको बताउँदै भनिन्, “यो क्षण म जीवनभर सम्झिरहने छु। परम्परा, नेतृत्व र प्रगतिको प्रतीकस्थल हाउस अफ लर्ड्समा उभिएर दक्षिण एसियामा महिलाको सशक्तीकरणबारे बोल्न पाउँदा गर्व लागेको छ।”

उनले दक्षिण एसियाका ग्रामीण भेगका महिलाहरूले भोगिरहेका चुनौतीको चर्चा गर्दै भनिन्, “शिक्षामा सीमित पहुँच, लैङ्गिक पूर्वाग्रह, बालविवाह, स्वास्थ्य सेवाको अभाव र आर्थिक निर्भरता अझै धेरै महिलाको वास्तविकता हो।” नेपालका पहाडी क्षेत्रदेखि ढाकाका गल्लीहरू र भारत–पाकिस्तानका गाउँ–बस्तीसम्म महिलाहरूले अनेक संघर्ष गरिरहेको कोइरालाले स्मरण गरिन्।

यो सम्मान कार्यक्रम पानस गोर्खा रेष्टुरेन्ट का सञ्चालक तथा खाद्य अभियन्ता सुजन कटवाल एमबिई को आयोजनामा भएको हो। उनले मनिषा कोइराला हाउस अफ लर्ड्समा सम्मानित हुने सम्भवतः पहिलो नेपाली महिला भएको जानकारी दिए। “दक्षिण एसिया र विश्वभरका महिलाको सशक्तीकरणमा उनले पुर्‍याएको योगदानको सम्मान गर्न पाउँदा हामी गर्व गर्छौं,” कटवालले भने।

कार्यक्रममा बेलायती सांसद, पूर्व सांसदहरू, महिला अधिकारकर्मी तथा दक्षिण एसियामा महिला सशक्तीकरणका क्षेत्रमा सक्रिय व्यक्तिहरूको उपस्थिति रहेको थियो।