
विराटनगर ।मोरङ जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र धनपालथान गाउँपालिकाको ऐतिहासिक, धार्मिक तथा शैक्षिक अध्ययन समेटिएको पुस्तक आज विराटनगरमा एक विशेष समारोहबीच विमोचन गरिएको छ।

२४५ पृष्ठ लामो सो पुस्तकमा पालिकाको नामाकरणको ऐतिहासिक पृष्ठभूमि, विभिन्न जातजातिको बसोबास अवस्था, धार्मिक आस्था, शैक्षिक संस्थाहरूको विवरण लगायतका विषयहरू समेटिएको छ। प्रकाशन समितिबाट प्रकाशित सो पुस्तकमा पालिकाका १ देखि ७ नम्बर वडाभित्र रहेका ५५ ग्रामथान, ६२ मन्दिर, १५ मस्जिद र ४ चर्च गरी कुल १३६ धार्मिक स्थलहरूको अभिलेखीकरण गरिएको छ। यस्तै, पालिकाभित्र ३२ वटा धार्मिक तथा सामुदायिक विद्यालय रहेको उल्लेख गरिएको छ।
पुस्तक विमोचन गर्दै गाउँपालिका अध्यक्ष जीवछप्रसाद गच्छदारले यस पुस्तकले स्थानीय नागरिकको जीवनस्तर उकास्न, शिक्षा र स्वास्थ्य क्षेत्रमा पहुँच विस्तार गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले पुस्तकलाई ज्ञानको भण्डारका रूपमा लिँदै आगामी योजनाहरू निर्माणमा उपयोगी हुने धारणा राख्नुभयो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नसिमा वानो, प्रमुख प्रशासकीय अधिकृत रीता खतिवडा, पुस्तक प्रकाशन समितिका सदस्य यज्ञ शर्मा, रामलाल सुतिहार, श्यामसुन्दर सुतिहार, उषा सरदार लगायतले धनपाल राजा र ग्रामथानको ऐतिहासिक तथा सांस्कृतिक महत्वबारे चर्चा गर्नुभयो।
उनीहरूले ग्रामथानमा गई शुभ कार्यको प्रारम्भ गर्दा समृद्धि र शान्तिको कामना गरिने परम्पराको विशेष चर्चा गर्दै पुस्तकले धार्मिक र सांस्कृतिक चेतना अभिवृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
समारोहमा स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि, शिक्षक तथा समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो।