
विराटनगर । कोशी प्रदेश प्रहरीले आर्थिक वर्ष २०८१/८२ मा लागुऔषध गाँजा विरुद्धको चलाइएको अभियानका क्रममा २६ हजार ७०५ किलोग्राम तयारी गाँजा बरामद गर्नुको साथै १७ लाख ७२ हजारभन्दा बढी गाँजाका बोटहरू नष्ट गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका अनुसार गाँजा तस्करहरूले बिरामी बोक्ने एम्बुलेन्स, नक्कली सरकारी नम्बर प्लेट जडित गाडी, तरकारी बोक्ने सवारी, कोशी नदीको बहाव र जमिनमुनि लुकाएर समेत ओसारपसार गर्ने प्रयास गरेका थिए ।
यस अभियानमा सबैभन्दा बढी सुनसरीबाट १२ हजार ३७५ किलो, मोरङबाट ६ हजार ६५० किलो, धनकुटाबाट ४ हजार १९४ किलो, उदयपुरबाट १ हजार ८१० किलो र झापाबाट १ हजार ६५१ किलो गाँजा बरामद भएको छ । गाँजाको ओसारपसार र कारोबारमा संलग्न १६५ पुरुष र २४ महिला गरी कुल १८९ जनालाई पक्राउ गरिएको छ । कारबाहीका क्रममा ३१ वटा चारपाङ्ग्रे र ७५ वटा दुईपाङ्ग्रे गरी १०६ वटा सवारी साधन पनि नियन्त्रणमा लिइएको छ ।
त्यसैगरी, प्रहरीले प्रदेशका विभिन्न जिल्लामा करिब २ हजार ४६४ रोपनी क्षेत्रफलमा लगाइएका तथा प्राकृतिक रूपमा उम्रेका १७ लाख ७२ हजारभन्दा बढी गाँजाका बोट र बेर्ना नष्ट गरेको छ ।
कोशी प्रदेश प्रहरीले लागुऔषध विरुद्धको यो अभियानमा आम नागरिकको साथ र सहयोग अपरिहार्य रहेको भन्दै कुनै पनि शङ्कास्पद गतिविधि देखेमा नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा फोन गरेर सूचना दिन अनुरोध गरेको छ ।