
विराटनगर । विराटनगर–१० मा अवस्थित नेशनल एकाडेमीले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गर्दै अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

आज एक विशेष समारोहको आयोजना गर्दै कलेजले १८० जना विद्यार्थीलाई औपचारिक रूपमा स्वागत गरेको हो।
कलेजका प्रिन्सिपल सकलदेव साहका अनुसार विज्ञान, व्यवस्थापन, शिक्षा र होटल म्यानेजमेन्ट संकायमा भर्ना भएका विद्यार्थीलाई गुणस्तरीय शिक्षा, सीप र संस्कारसहित उज्ज्वल भविष्यको बाटोमा अघि बढाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो। उनले भने, “विद्यालयको भौतिक संरचना मात्रै ठूलो भएर हुँदैन, त्यहाँ कस्तो वातावरणमा पढाइ हुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। नेशनल एकाडेमीको संरचना सानो भए पनि यहाँ विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै देशका लागि दक्ष जनशक्ति उत्पादन गर्दै आएका छौं।”
प्रिन्सिपल साहले भने, “हाम्रो लक्ष्य विद्यार्थीको व्यक्तिगत विकाससँगै व्यवहारिक सीप अभिवृद्धि गर्ने हो। शिक्षाले मात्र नभई संस्कारले पनि विद्यार्थीलाई पूर्ण व्यक्तित्व बनाउन मद्दत गर्छ।”
कार्यक्रमका प्रमुख अतिथि विराटनगर–१० का वडाअध्यक्ष अर्जुन गिरीले अहिलेको आवश्यकता सीपमूलक शिक्षा रहेको उल्लेख गर्दै यसतर्फ विद्यार्थी र अभिभावक दुबै सचेत हुनुपर्ने बताए। उनले भने, “जीवनमा सफल हुन केवल किताबको ज्ञान मात्र पर्याप्त हुँदैन। सीप, व्यवहार र संस्कारले जीवनको मूल्य बढाउँछ। नेशनल एकाडेमीले यो दिशामा महत्वपूर्ण योगदान दिइरहेको छ।”
सो अवसरमा प्राध्यापक डाक्टर राजनारायण यादव र शिक्षक हनिरायण यादवले पनि विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै मेहनत, अनुशासन र सीपको महत्वबारे प्रेरणादायी सन्देश दिएका थिए।
अभिमुखिकरण कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य तथा विविध प्रस्तुति दिँदै वातावरणलाई थप रमाइलो र आकर्षक बनाएका थिए। नेशनल एकाडेमीले विगतदेखि नै विद्यार्थीलाई शैक्षिक मात्र नभई व्यावसायिक र व्यवहारिक सीपमा पनि दक्ष बनाउँदै आएको छ। यस वर्षको अभिमुखिकरण कार्यक्रमले पनि नयाँ विद्यार्थीमा कलेजको उद्देश्य, नियमावली र भविष्यको योजना बारेमा जानकारी गराए ।