
विराटनगर । कोशी प्रदेशमा पछिल्लो समय पारिवारिक अपराध भयावह रूप देखिन थालेको छ । प्राय: जसो आफन्तकै हातबाट ज्यान जाने घटनाहरू सार्वजनिक भइरहेका छन् ।

सामान्य भनाभनबाट सुरु भएको असमझदारी जब नियन्त्रण बाहिर जान्छ, तब भौतिक आक्रमण हुँदै हत्याजस्ता घटनामा परिणत हुने क्रम बढ्दो छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पछिल्लो एक वर्षमा पारिवारिक हत्याका मात्रै ५० भन्दा बढी घटना सार्वजनिक भएका छन् ।
प्रदेशका १४ जिल्लामा एक आर्थिक वर्षमा ८ हजारभन्दा बढी मुद्दा दर्ता भएका छन् । तीमध्ये लगभग १ सय ५० बढी कर्तव्य ज्यानका मुद्दा छन्, जसमा उल्लेख्य सङ्ख्यामा आफन्तबाट गरिएका हत्या पर्दछन् ।
मोरङ जिल्लामा मात्रै आर्थिक वर्ष २०८१/०८२ मा २ हजार ६ सय ६ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये १ हजार ९ सय २० मुद्दा फछ्र्यौट भएका छन् भने ६ सय ८६ मुद्दा बाँकी छन् । मोरङमा कर्तव्य ज्यानका १३ वटा मुद्दा दर्ता भएका छन्, जसमा पनि धेरैजसो घटना आफन्तभित्रै घटेका हुन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी ईश्वर कार्कीका अनुसार पछिल्लो समयमा देखिएका जघन्य अपराध नजिकका आफन्तबाटै हुने गरेको पाइएको छ । पारिवारिक किचलो, प्रेम सम्बन्धमा धोका, सम्पत्ति सम्बन्धी असमझदारीजस्ता कुराले हत्यासम्मको अवस्था सिर्जना गरिरहेको उनको भनाइ छ ।
उनका अनुसार पारिवारिक सम्बन्ध सुमधुर राख्न नसक्नु, विश्वास गुम्नु, आपसी बेमेल, एक–अर्काको भावना बुझ्न नसक्नु, र गलत सन्देह गर्नु यस्ता अपराध बढ्नुका प्रमुख कारण हुन् ।
प्रहरीले यस्ता घटनाहरूको न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको दाबी गरेको छ । तर यस्ता घटना दिन प्रतिदिन बढिरहेका सन्दर्भमा मात्रै चेतनाले पुग्छ कि पुग्दैन भन्ने प्रश्न पनि उठ्न थालेको छ ।
सामाजशास्त्री तथा प्राध्यापक डा. डिल्ली प्रसाईंले पछिल्लो समय पारिवारिक सम्बन्धभित्र कलह र अविश्वासले गहिरो रूप लिन थालेको बताउँछन् । उनको विश्लेषणमा सामाजिक र आर्थिक कारणहरू, प्रविधिको बढ्दो प्रयोग र व्यक्तिवादी सोच अपराधको जड बनेको छ ।
उनले भने, “परिवारले सही दिशा पाउन छाडेको छ । बालबच्चा, युवा, वृद्ध कसैमा पनि आत्म(संयमको अभाव देखिन्छ । यस्ता प्रवृत्तिको अन्त्य गर्न समाजको सामूहिक संलग्नता आवश्यक छ ।”