
विराटनगर । झमझम झरीले रुझाउने बेला उल्लेख्य झरी बेगरै असार बितेको यसपटक साउनको पहिलो साता पनि सुख्खै बितेको छ । अपेक्षाकृत वर्षा हुन नसकेपछि विराटनगरसहित कोशीको तराई क्षेत्र हपहपी गर्मीको मारमा परेको छ ।

बिहीबार मात्रै विराटनगर, इटहरी जस्ता शहरी क्षेत्रको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस हाराहारी पुगेको छ । हावा पनि कम चलेका कारण गर्मी अधिक महसुस भएको थियो ।
यतिबेला देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेका कारण पानी पर्न नसकेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
बिहीबार बिहान विभागले जारी गरेको मौसमी बुलेटिन अनुसार अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । यसले नेपालमा पानी पार्ने प्रणाली कमजोर पारेको छ ।
मौसमविद् सञ्जिव झाका अनुसार प्रायः नेपालमा मनसुन याममा राति पानी पर्छ । दिउँसोपख चरक्क घाम चर्किने, जमिनको सतहमा भएका पानी सोसिने र बाफ बनेर माथि उठ्ने हुन्छ ।
अपराह्नपछि वायुमण्डलमा बादल बन्ने प्रक्रिया सुरू हुन्छ र पानी पर्न थाल्छ । पहाडी भूभागमा त्यसरी पानीका कण बोकेको बादल झन् छिटो एकत्रित भएर मुसलधारे वर्षासमेत हुने गर्छ ।
जलवायु विज्ञ धर्मराज उप्रेतीले मनसुनी वर्षा भारतको बिहार हुँदै उत्तर प्रदेशतिर लागेको बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागले यसपटक वर्षा र तापक्रम दुवै सरदरभन्दा माथि हुने प्रक्षेपण गरेकाले कृषकहरूको आशालाई मलजल पनि गरेको थियो । तर साउन दोस्रो हप्ता भइसक्दा पनि मनग्गे वर्षा हुन सकेको छैन । किसान यसले सबैभन्दा धेरै मारमा परेका छन् ।