
विराटनगर । विराटनगर–१६ सीमा क्षेत्रमा सुरक्षाकर्मी र विद्युत कर्मचारीसँगको मिलेमतोमा तस्करले नै बत्ती निभाएर मालसामान ओसारपसार गर्ने गरेका छन् ।

मध्य रातमा दरहिया सडकमा तस्करले बत्ती निभाएर भन्सार छलीका सामान ओसारपसार गर्ने गरेको स्थानीयले गुनासो गरेका छन् ।
बुधबार विराटनगर–१६ को वडा कार्यालयमा स्थानीयले यस्तै गुनासो गर्दै जनप्रतिनिधिलाई जानकारी दिए ।
सडकबत्तीमा ढुङ्गाले हानेर फुटाउनेसमेत गरिएको स्थानीयले बताएका छन् । दरहिया नाका प्रदेश प्रहरी कार्यालय विराटनगरको नजिकै पर्छ ।
दरहिया नाकाबाट कपडा, खाद्यान्न र मोटरपार्टस्का सामग्री नेपालतर्फ ल्याइन्छ भने चीनको स्याउ भारततर्फ लगिने गरिएको छ ।
भन्सार कार्यालय आसपासका क्षेत्रमा सबैको चासो र प्रहरीको सुरक्षा कडा भएकाले कारोबारीले दरहिया नाकालाई अहिले सदुपयोग गरेका छन् ।
‘मेन बोर्डरमा कडाइ गरेर दरहिया नाकाबाट तस्करी सुरक्षाकर्मीले नै खुल्ला गरेको सुनेको छु’ सीमावर्ती क्षेत्रका बासिन्दा तथा नेपाली कांग्रेसका स्थानीय एक नेताले भने–‘यस्तै कारोबारबाट सीमामा धेरैको रोजिरोटी चलेको छ ।’
सुरक्षा स्रोतका अनुसार दरहियाको उखुबारीबाट तस्करी हुन्छ । दरहिया नाकाबाट सशस्त्र प्रहरीले मंगलबार राति एक टेम्पो कपडा बरामद गरेको छ ।
प्रस्तावित गुल्म रानीका सुरक्षाकर्मीले राति साढे ११ बजेको २ ह ३५२९ नम्बरको टेम्पोमा कपडा लिएर नेपालतर्फ आउँदै गरेका विराटनगर–१५ निवासी अभिषेक चौधरीलाई पनि नियन्त्रणमा लिएको छ ।
कपडा र टेम्पो ९ लाख ९० हजार रुपैंया मुल्याङ्कन गरेर सशस्त्रले बुधबार मानिससहित भन्सार कार्यालयमा कारवाहीका लागि बुझाएको छ ।
यस क्षेत्रबाट राति टेम्पो र मोटरसाइकलमा तस्करीका सामान बोक्ने गरिन्छ ।
सुरक्षा स्रोतका अनुसार विराटनगरको पश्चिमी भाग केशलिया खोलाको पूर्व र पश्चिम सुनसरीबाट राति ११ बजेदेखि बिहान ३ बजेसम्म ४ घण्टा तस्करीमा संलग्न मानिसहरु सक्रिय हुने गरेका छन् ।
केशलिया खोला पूर्व विराटनगर र पश्चिम बर्जु गाउँपालिका क्षेत्रमा राति तस्करी बढी हुने गरेको स्रोतले दाबी गरेको छ ।
‘दरहिया क्षेत्रको उखुबारीबाट राति हुने कारोबार सबै पत्ता लगाएर सकिदैन, तस्करको समूह ठूलो हुन्छ, सुरक्षा गस्ती सानो’ एक सुरक्षा अधिकृतले भने ।
दुई महिनाअघि विराटनगरमा भएको सुरक्षा बैठकमा गृहमन्त्री रमेश लेखकले प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकलाई विराटनगर क्षेत्रमा तस्करी बढेको जनाउ दिदै कडाई गर्न निर्देशन दिएका थिए ।
हाल भारतसँग सीमा जोडिएको मोरङको सीमावर्ती क्षेत्रमा सुरक्षा निकायको मिलेमतो भन्सार छलीको कारोबार नभएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव दाबी गर्छन् ।
दरैयामा सडक बत्ती निभाएर भन्सार छलीको कारोबार हुने गरेको आफूले थाहा नपाएको बताउँदै उनले यसबारे थप अध्ययन गरिने बताए ।
यस्तो कार्य भएको पाइए सम्लग्नलाई कारवाही गरिने उनको भनाई छ ।
‘यस्तो कुरा सुनिएको छैन, सुरक्षाकर्मीको सहभागितामा मोरङमा तस्करी हुने सम्भावना छैन’ प्रजिअ यादवले भने ।
सीमावर्ती क्षेत्रमा सुरक्षा तैनाथी बढाइएकाले तस्करी धेरै कम भएको बताउँदै उनले संलग्नहरु पाइए कारवाहीको दायरामा ल्याउने जानकारी दिए ।